भूकम्प सुरक्षाबारे सडक नाटक

 

भूकम्प सुरक्षा दिवसको सन्दर्भमा साँखुमा सडक नाटक प्रदर्शन गरिएको छ।

दुई वर्षअघिको भूकम्पको कहालीलाग्दो अवस्था सम्झँदै साँखुको चलाखुमा देखाइएको नाटक मार्फत भूकम्पले जीवनमा ल्याएको विभिन्न प्रभाव दर्शाइएको थियो। आफ्नो परिवारको सदस्यको मृत्युको वेदना र रगत-पसिनाले आर्जेको घर भत्किँदाको पीडा हेर्दै गर्दा उपस्थित करिब २ सय दर्शक भावुक देखिन्थे।

जनचेतना अभिवृद्धि गर्न देखाइएको नाटकमा हतार गरेर असुरक्षित घर बनाउँदा हुन सक्ने क्षति समेत देखाइएको थियो।  नाटक मार्फत भूकम्प आउँदा आत्तिएर भाग्न नहुने, खुला स्थानमा जम्मा हुने र आफूसँग विपद्को बेला अत्यावश्यक झटपट झोलाको व्यवस्था गर्नुपर्ने सन्देश दिइएको थियो। यस्तै, समुदाय स्तरमै खोज तथा उद्धार समूह, प्राथमिक उपचार समूहसँगै आवश्यक सामग्रीको व्यवस्था गर्न पनि नाटकका कलाकारले झकझक्याएका थिए।

भूकम्पको जोखिम न्यूनीकरण गर्न सुरक्षित घर बनाउन जोड दिँदै घर बनाउँदा नगरपालिकाको मापदण्ड मान्नुपर्ने र गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गर्नुपर्नेमा पनि जोड दिइएको थियो।

नाटक समापनपछि दर्शकले नाटकले दिन खोजेको सन्देश सकारात्मक र उपयोगी रहेको बताए। समुदायमै प्राथमिक उपचार र खोज तथा उद्धारको टोली बनाउनुपर्नेमा अधिकांशको एकमत थियो।

नाटक शंखरापुर नगरपालिका स्थानीय विपद तथा जलवायु उत्थानशील समितिले युरोपियन युनियन मानवीय सहायता विभागको आर्थिक सहयोग रडिसिए नेपाल, आड्रा नेपाल र भिएसओ नेपालले राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र मार्फत सञ्चालन भइरहेको प्रगति परियोजनाको समन्वयमा देखाइएको थियो।

From : http://www.nepallive.com/