सडक नाटकमा भूकम्पको सम्झना

 

काठमाडौं, माघ १४ –गएको हप्ता बिहिबार माघ ११ गते, साँखुबासी आफ्नो नियमित क्रियाकलापमा ब्यस्त हुँदै गर्दा साँझ करिब ४ बजे चार जना महिला–पुरुष भूकम्प आयो, भूकम्प आयो भनेर कराउदै साँखुको चलाखुमा जम्मा भए ।

वरिपरी बसेका सबैले साँचिकै भूकम्प आयो की भनेर तर्सिए । कति आत्तिए । कतिले चाँही खुल्ला स्थानमा भएकोले खासै वास्ता गरेनन् ।

रोइ–कराई गर्दै गरेका ती चार जना भने निरन्तर भूकम्प आयो भन्दै यता उति कुदी रहे । वरिपरी मानिस जम्मा हुन थालेपछि सडक नाटकका ती कलाकारले बल्ल आफूले भन्न खोजेको कुरा सबै सामु बेलिबिस्तार लगाउन थाले ।

२०१५ को भूकम्पको कहालीलाग्दो क्षण सम्झिँदै सुरु भएको नाटकले भूकम्प जीवनमा ल्याएको विभिन्न प्रभावलार्इ दर्साएको थियो । आफ्नो परिवारको सदस्यको ज्यान गुमेको बेदना र रगत पसिनाले आर्जेको घर भत्किँदाको पीडा हेर्दै गर्दा उपस्थित करिब २०० जनाको मन भूकम्प आएको बेला फैलिएको त्रास जस्तै देखिन्थ्यो ।

नाटक बिस्तारै अघि बढ्दै जाँदा भूकम्पको बेला हतारिँदा सामान्यता कसरी आफ्नै क्षति हुनसक्छ । आफ्नो घर जमिनको सिमांकनको समस्यादेखि घर बनाउन हतार गर्दा हुन सक्ने लापरवाही समेत देखाइएको थियो ।

तर समस्या सँगसँगै समाधानको उपाय जस्तै भूकम्प आउँदा आतिएर भाग्न नहुने, खुला स्थानमा जम्मा हुने र आफूसँगै अत्यावश्यक समानको व्यवस्था गर्नुपर्ने बताए । नाटकपछि दर्शकले नाटकले दिन खोजेको सन्देश सकारात्मक र उपयोगी रहेको बताए ।

उक्त नाटक शंखरापुर नगरपालिका स्थानीय विपद तथा जलवायु उत्थानशील समितिले युरोपियन युनियन मानवीय सहायता विभागको आर्थिक सहयोग रडिसिए नेपाल, आड्रा नेपाल र भिएसओ नेपालले राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्रमार्फत सञ्चालन भैरहेको प्रगति परियोजनाको समन्वयमा समुदायलाई भूकम्पीय सुरक्षा सम्बन्धि जनचेतना  अभिवृद्धि गर्न आयोजना गरिएको थियो  ।

From : http://ujyaaloonline.com