शहरी विपद् जोखिम न्यून गर्न सामूहिक प्रयासको थालनी

 

ललितपुर, १४ फागुन: तीन वर्षअघिको गोरखा भूकम्प र त्यसपछि पटकपटक परकम्प जाँदा त्रसित बन्दै घर वा विद्यालयबाट आत्तिएर जथाभावी भाग्ने गरेका विक्रम खड्का अब त्यस्ता विपद् आउँदा सुरक्षित स्थानमा कसरी जाने र अरूलाई पनि कसरी लैजाने भन्नेबारेमा राम्ररी जानकार भएका छन् । काठमाडौँ महानगरपालिका–१२ स्थित महेन्द्र सरस्वती विद्यालयमा कक्षा ८ मा अध्ययनरत खड्कालाई यस किसिमको आत्मविश्वास विद्यालयका शिक्षकसँग विपद् व्यवस्थापनसम्बन्धी विभिन्न तालीममा सहभागी भई विज्ञबाट अवगत भएको हो । उनी भन्छन्, “भूकम्प वा अन्य प्राकृतिक विपद्को समयमा धैर्य र बुद्धिले काम गर्नुपर्ने रहेछ । आत्तिएमा उल्टै अनेक समस्या आउने गर्दछ ।” उनीसँगै तालीममा सहभागी प्रकाश राई विपद्बाट कसरी जनधनको सुरक्षा गर्न सकिन्छ भन्ने बारेमा विद्यालय तहदेखि नै शिक्षा दिनुपर्ने बताउँछन् ।

प्राकृतिक प्रकोप आउँदा त्यसको पूर्वतयारी तथा प्रकोपपछि उत्पन्न हुने समस्याका बारेमा ख्याल नगरिँदा अकल्पनीय परिस्थिति सिर्जना हुने र त्यसबाट मानवीय जीवनमा थप समस्या आउने गर्दछ । प्राकृतिक प्रकोपको पूर्वानुमान गर्न नसकिए पनि प्रकोपपछि आउनसक्ने परिस्थितिलाई उचित व्यवस्थापन गर्न पूर्वतयारी तथा आधारभूत सीपको विकास हुनु आवश्यक रहेकामा ललितपुर महानगरपालिका–९ स्थित श्रमिक शक्ति विद्यालयका शिक्षक राजेन्द्र बस्नेत जोड दिनुहुन्छ । विपद्सम्बन्धी तालीमले सुरक्षित स्थानान्तरण कसरी गर्न सकिन्छ र यसमा कसरी सामूहिक सहभागिता बढाउन सकिन्छ भन्नेबारेमा जानकारी भएको उहाँको भनाइ छ ।

बालबालिकामार्फत दिइएको सीप तथा चेतनाको प्रभाव समुदायस्तरमा दीर्घकालीनरूपमा पर्ने हुनाले शिक्षकको सहजीकरणमा विपद् व्यवस्थापनसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गर्नु बढी प्रभावकारी हुने भएकाले सुरक्षित शहर काठमाडौँ उपत्यकामा शहरी विपद् जोखिम न्यूनीकरण परियोजनाले काठमाडौँ र ललितपुर महानगरपालिकाका केही विद्यालयलाई आफ्नो एक कार्यक्षेत्र बनाएको छ । काठमाडौं उपत्यकामा शहरी विपद् जोखिम न्यूनीकरणलाई मजबुत गरी उत्थानशील शहर निर्माण गर्ने लक्ष्यका साथ यो परियोजना शुरु गरिएको छ ।

सन् २०१७ जुलाईदेखि २०१९ जुनसम्म काठमाडौँ महानगरपालिकाको वडा नं १० र १२ तथा ललितपुर महानगरपालिका वडा नं २ र ९ नमूनाका रूपमा सञ्चालन गरिएको यस परियोजनालाई आड्रा नेपाल, डेनिस चर्च एड, लुथरन वल्र्ड रिलिफ र वल्र्ड भिजनको सहयोगमा राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र, नेपाल (एनडिआरसी)ले कार्यान्वयन गरिरहेको छ । यी पाँचवटै संस्थाको संयुक्तरूपमा शहरी विपद् जोखिम न्यूनीकरण सञ्जाल गठन गरिएको छ । शहरी विपद् जोखिम न्यूनीकरणसम्बन्धी सन्दर्भ सामग्री निर्माण गर्न उक्त सञ्जाल र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबीच पनि हालै एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौँ उपत्यकामा शहरी विपद् जोखिम न्यूनीकरणलाई प्रभावकारी बनाई उत्थानशील शहर निर्माण गर्ने लक्ष्यका साथ जुलाई २०१७ देखि दुई वर्षका लागि सञ्चालन गरिएको यस परियोजना कामपा–१० र १२, लमपा–२ र ९ मा नमूनाका रूपमा सञ्चालित छ । चारवटा वडामा रहेका निजी तथा सार्वजनिक विद्यालयका शिक्षक÷विद्यार्थीमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी भैपरी योजना र सुरक्षित मार्गयोजना तयार गरिएको छ । उपत्यकाका अन्य वडा पनि विपद्का हिसाबले उत्तिकै जोखिममा रहेकाले यी चारवटा वडामा हासिल भएको सिकाइलाई विस्तार गर्न सकिनेछ ।

परियोजनाले विद्यालयसहित चारवटै वडाका स्वास्थ्य चौकीलाई तालीम र विपद्का समयमा आवश्यक राहत तथा उद्धार सामग्री पनि उपलब्ध गराएको छ । वडास्तरमा रहेका तत्कालीन विपद् व्यवस्थापन समिति, नवनिर्वाचित जनप्रतिनिधि, सामाजिक परिचालक, टोल विकास संस्था, आमा समूह, महिला समूहका करिब ७०० जनालाई अभिमुखीकरण तालीम सञ्चालन गरिएको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र (एनडिआरसी नेपाल) का डा धु्रव गौतमले जानकारी दिनुभयो । तालीममा वडास्तरमा स्थानीय योजना तर्जुमा प्रक्रियामा विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रमलाई मूल प्रवाहीकरण कसरी गर्ने, योजना छनोट गर्दा स्थानीयस्तरदेखि नै कसरी गर्ने, योजना छनोटमा स्थानीयस्तरदेखि नै कसरी ध्यान दिने भन्ने विषयमा प्रशिक्षित गरिएको छ ।

चारवटै वडामा विपद् जोखिमको पहिचान, स्तरीकरण गरी जोखिमयुक्त र सुरक्षित स्थलको नक्शाङ्कन गरी सम्बन्धित वडालाई पठाइएको छ । वडास्तरमा जोखिम, संकटासन्न र क्षमता विकासको पहिचान गरिएकाले भविष्यमा हुनसक्ने कुनै पनि विपद्को अवस्थामा पनि समुदायलाई सुरक्षित रहन सहज हुने गौतमको विश्वास छ । परियोजनाबाट चारवटा वडाका करिब २२ हजार घरधुरीका झण्डै ८६ हजार जनसङ्ख्यालाई विपद् जोखिम न्यूनीकरणबारे जानकारी हुनेछ । गोरखा भूकम्पबाट यी वडामा ३६ जनाको मृत्यु भएको थियो ।
यस परियोजनामार्फत सेवा प्रदायक र सरोकारवाला निकायको विपद् जोखिम न्यूनीकरणसम्बन्धी ज्ञान र चेतनामा अभिवृद्धि गर्नुका साथै कार्यक्रमले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई नगरस्तरीय योजना तर्जुमामा समावेश र मूलप्रवाहीकरण गरेको छ । विपद् जोखिम व्यवस्थापनका लागि संस्थागत क्षमता अभिवृद्धि गर्न, विपद् पूर्वतयारी, पुनर्लाभ जस्ता विषयमा संस्थाको क्षमता अभिवृद्धि गर्न, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनसम्बन्धी योजना कार्यान्यवन गर्न सहयोग पुग्नेछ ।

कामपा–१० का वडाध्यक्ष रामकुमार केसी हरेक वडामा एम्बुलेन्स उपलब्ध गराउन र खुल्ला स्थानको संरक्षण गर्न लागिएको बताउनुहुन्छ । कामपा–१२ का वडाध्यक्ष विकास डंगोल पनि वडालाई कसरी विपद्बाट सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा परियोजनाले ज्ञान र सीपसँगै आवश्यक उपकरण प्रदान गरेर आफूहरूको क्षमता विकास गरेको बताउनुहुन्छ । टेकुमा रहेको फोहरमैलाको व्यवस्थापन गरी पार्क निर्माण गरिएपछि महामारीको समस्याको अन्त्य गर्न सकेको र छिट्टै टेकुमा रहेका दुईवटा पेट्रोल पम्पलाई विस्थापन र विद्युत्का तारलाई व्यवस्थित गर्ने तयारीमा जुटेको जानकारी दिनुभयो ।

वडाभित्रको सामुदायिक विपद् व्यवस्थापन समितिलाई पुनःगठन गरी वडाका विद्यालयमा प्रभावकारी विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रमलाई तीव्रता दिइएको लनपा–९ वडा सदस्य अमिर महर्जनको कथन छ । “हरेक उद्योगमा आगो नियन्त्रणको व्यवस्था नगरेसम्म स्वीकृति दिँदैनाँै” उहाँले भन्नुभयो, “उद्योगधन्दा दर्ता हुँदा नै आगलागीबाट बच्ने उपायका बारेमा आवश्यक सावधानी पूरा गर्नुपर्ने हुन्छ ।” सो वडामा आगलागीको बढी जोखिम रहेकाले गल्लीमा ५० मिटर भित्रसम्म गुडाउन मिल्ने र ५०० मिटरसम्म पानी फाल्न सकिने सानो दमकलको व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो । प्रत्येक चोकमा एक लाख लिटर पानी भण्डारण हुने ट्यांकी निर्माण गर्न बजेटको व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो ।

विपद्बाट महिला तथा बालबालिका, अशक्त र वृद्धवृद्धा बढी जोखिममा पर्ने गर्दछन् । महिलामा विपद्सम्बन्धी विस्तारै जनचेतना अभिवृद्धि भएकाले सक्रियता बढेको लमपा–२ की सामाजिक परिचालक सानु महर्जन बताउनुहुन्छ । सो वडामा गठन भएका पाँच÷छवटा महिला समूहलाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी तालिम दिइसकिएको उहाँले जानकारी दिनुभयो ।

कामपा, विपद् व्यवस्थापन प्रमुख इन्द्रमानसिंह सुवालले विगतमा २२ वडामा गठन भएका वडा विपद् व्यवस्था तथा नागरिक समितिमध्ये चारवटा पुनःगठन भइसकेको र यसै वर्षभित्र ३२ वटै वडामा पुनःगठन गरी कार्य सञ्चालन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । सुवालले भन्नुभयो, “प्राकृतिक विपद्सम्बन्धी सम्पूर्ण तथ्याँक राख्ने गरी स्थापना गरिएको महानगरी आपत्कालीन शल्यक्रिया केन्द्रलाई पनि आगामी वर्षदेखि पूर्णरूपमा सञ्चालनमा ल्याउनेछौँ ।”

मुलुक संघीय संरचनामा रूपान्तरित भई संघ, प्रदेश र स्थानीय सरकार गठन हुन गइरहेकाले विपद् जोखिमका असरलाई न्यूनीकरण गरी समुन्नत समाज निर्माणका लागि उत्थानशील शहरको अवधारणा देशका अन्य नगरपालिकाहरूमा पनि विस्तार गर्नु आवश्यक छ । बहुविपद्को उच्च जोखिममा रहेको यस मुलुकमा विपद् उत्थानशील विकासका माध्यमबाट मात्र दिगो विकासका लक्ष्य प्राप्त गर्न सकिन्छ ।

– कृष्ण अधिकारी